देशलाई दलालहरुको हातबाट मुक्त गर्नुपर्छ– ‘विप्लव’

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ संग जनस्वयंसेवक रष्ट्रिय मासिकले लिएको अन्तरर्वार्ता

सर्बप्रथम पार्टीको आठौँ राष्ट्रिय महाधिबेशनबाट महासचिवमा निर्वाचित हुनु भएकोमा यहाँलाई हार्दिक बधाई छ ।

धन्यवाद ।

महासचिव कामरेड, तपाईको पार्टीको हालै सम्पन्न महाधिवेशनले विकास गर्न खोजेको दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद र समसामयिक राजनीतिकोबारेमा छलफल गर्न खोजेका छौ । यो महाधिबेशनको अल्पकालीन र दिर्घकालीन महत्वको बारेमा प्रकाश पारिदिनेहोस न ?

हो महाधिवेशनबाट हामीले तत्कालिक र दीर्घकालिक महत्वका निर्णयहरु गरेका छौं । तत्कालिक निर्णयहरुमा जनताका अधिकार र राष्ट्रिय स्वाधिनतालाई सुनिश्चित गर्ने संघर्ष संचालन गर्ने । भ्रष्टाचार, तस्करी, महंगी, कालोवजारी, मानव वेचविखन विरुद्ध संघर्ष गर्ने निर्णय लिएका छौं भने दीर्घकालिक रुपले संसदीय व्यवस्थालाई मिल्काउने र वैज्ञानिक समाजवाद स्थापना गर्न क्रान्ति सम्पन्न गर्ने, कम्युनिस्टहरु रुस र पूर्वी युरोपमा हार्नुका कारणहरुलाई समाधान गर्ने, वैज्ञानिक समाजवादलाई रक्षा गर्ने विचार वनाउने, दर्शन, राजनीति, अर्थतन्त्रमा विकास गर्ने निर्णय लिएका छौं ।

दर्शनको क्षेत्रमा नयाँ कुराको बिकास गरियो भन्ने छ तपाइको दृष्टिकोणमा दर्शन के हो ? दर्शनको क्षेत्रमा बिकास गर्न खोज्नु भएको नयाँ कुरा के के हुन् ?

यो निकै महत्वपूर्ण विषय हो । दर्शन भनेको वस्तु, समाज, राज्य, राजनीतिलाई अध्ययन गर्ने, बुझ्ने र वदल्ने दृष्टिकोण हो । द्वन्द्वात्मक भौतिकवादी दर्शन आजसम्मको वैज्ञानिक दर्शन हो । तर हामीले महाधिवेशनमा के ध्यान दिन खोजेका छौं भने वैज्ञानिक समाजवादको असफलताको पछाडि राजनीतिको त्रुटि मात्र होइन दर्शनको पनि अपुग छ भन्ने हो । त्यसमा अहिले तीन विषयमा बोलेका छौं । पहिलो, माक्र्सको संश्लेषणलाई विकास गर्ने । उहाँले दुनियाँलाई वदल्ने मुख्य कुरा हो भन्नु भएको छ तर हामीले भनेको छौं वदल्ने कुरा मात्र पनि ठूलो भएन अव । वदलिएको वस्तुलाई रक्षा र विकास गर्ने दर्शन चाहियो । यसो भन्दा परिस्थिति अनुसार दर्शनलाई पनि विकास गर्न आवश्यक छ भन्ने हाम्रो संश्लेषण छ ।
दोस्रो, दर्शनमा विपरितको एकत्व सम्बन्धि नियमलाई बुझने  र लागु गर्ने विषयमा छ । हामीले विपरितको एकत्व सम्बन्धि नियम जड वस्तु, अचेत वस्तु र सचेत समाज, पार्टीमा एकै प्रकारले लागु हुदैन् । ढुंगोमा विपरित तत्वको एकत्व जसरी लागु हुन्छ र जीवन बाँच्छ सचेत पार्टीमा त्यो लागु हुँदैन । पार्टीको विपरित्व भनेको सजातीय र सवर्गीय हुनुपर्छ । विचारमा अन्तर आउने विषयलाई विपरितको एकत्व भन्न मिल्दैन । त्यसले सवर्गीय अध्ययन अनुसन्धानलाई पनि गलत प्रकारले हेर्ने या गलत विचारलाई पनि छुट दिने प्रवृत्ति हुर्काउँछ । यसले पार्टीलाई विभाजनतिर लान्छ या भिडमा वदलेर विसर्जन गर्छ । त्यसैले हामीले भन्यौं विपरितको एकत्वलाई सवर्गीय बनाउदा सृजना र गति पैदा हुन्छ ।
तेस्रो दर्शनमा अलि वढि गंभिर विषय उठाएका छौं । त्यो भनेको प्रकृति विज्ञानमा जति विकास र नयाँ नियमहरुको अनुसन्धान भएको छ समाज विज्ञानमा हुन सकेको छैन् । समाज विज्ञान एक विज्ञान हुनुका नाताले यसले पनि विकासको माग गर्छ । दर्शनमा विकास गर्न सक्नुपर्छ भन्ने हाम्रो निस्कर्ष छ । यसमा क्रमशः बहस हुँदै जानेछ ।

२० औं शताब्दीमा सम्पन्न भएका क्रान्तिहरु भिषण प्रतिक्रान्तिमा बदलिए वास्तवमा प्रतिक्रान्तिका कारण के हुन् ?

यो पनि निकै महत्वको प्रश्न हो । हाम्रो पार्टीले विशौं शताब्दीमा प्रतिक्रान्ति हुनुका कारणमा ५ विषयलाई हेरेका छ । पहिलो दर्शनमा रहेको कमि, दोस्रो राजनीतिमा, तेस्रो अर्थतन्त्रमा, चौंथो संगठनमा र पाचौं संस्कृतिमा ।
दर्शनको विषय माथि नै उल्लेख गरियो । राजनीतिमा हामीले भनेका छौं वैज्ञानिक समाजवादमा जनवाद र अधिनायकत्वलाई सन्तुलित र विधिवत प्रयोग गर्न नसक्दा पनि प्रतिक्रान्तिलाई सहयोग पुग्यो । त्यसैले हामीले भनेका छौं समाजवादमा जति उच्चतामा अधिनायकत्व लागु हुन्छ त्यही उचाई मा जनवादको प्रयोग गर्नु पर्छ । कम्युनिस्टहरु जनमत विरोधी हुन्छन् भन्ने प्रचार पुरै झुटो हो, हामीले त्यसलाई व्यवहारतः साफ गर्नुपर्छ ।
तेस्रो कुरा हामीले नीजि संवृद्धि र सामाजिक संवृद्धिलाई सन्तुलित गर्दै वैज्ञानिक समाजवाद संचालन गर्नु पर्छ ।
चौंथो राज्यको नेतृत्व प्रणाली आवधिक र गतिशिल बनाएर वैज्ञानिक समाजवादलाई उच्चतातिर लैजानु पर्छ ।
पाचौं कम्युनिस्ट समाज र कम्युनिस्ट संस्कृतिको निर्माण गर्नुपर्छ । बुर्जुवालाई प्रतिस्पर्धा मै परास्त गर्नु पर्छ । संक्षिप्तमा यीनै हुन् तर हामीले धेरै विषय प्रस्ट्उँयादै जानु पर्नेछ ।
वैज्ञानिक समाजवाद र राजनीतिक अर्थशास्त्रको क्षेत्रमा महाधिवेशनले विकास गर्न खोजिएको नयाँ कुरा के हो ?
यस विषयमा मैले माथि उल्लेख गरेँ । फेरी पनि थोरै भन्दा हामीले तीन विषयलाई उठाएका छौं । पहिलो नागरिकहरुको सबैको लागि काम, काम अनुसारको दामको नीति लागु गर्नुपर्छ । नागरिकको हकमा यो नीति लागु गर्दा नागरिकको नीजि जीवन सुखि र संवृद्ध हुन्छ । किन कि पुँजीवादमा त्यस्तो छैन । यहाँ काम १६ घण्टा लगाउँने दाम ८ घण्टाको दिने छ । श्रमिकले सबै पैसा पाउँदैन त्यसैले जीवन कठिन हुन्छ ।
दोस्रो पार्टी कार्यकर्ता र अगुवाहरुले सबैले काम र आवश्यकता अनुसारको दाम पाउँछन् । उनीहरुले काम गरेको केही रकम आफैं पाउँछन्, केही समाजको लागि योगदान गर्छन् । यसले कार्यकर्ताको जीवन सुखि पनि हुन्छ अनुशासित र सरल पनि हुन्छ ।
तेस्रो कम्युनिस्ट नेताहरुले अनिवार्य काम र आवश्यकता अनुसारको दाम पाउँछन् । नेताहरुले आफ्नो सबै क्षमता र काम समाज र लक्ष्यको लागि गर्छन् तर सुविधा आवश्यकताको मात्र लिन्छन् । यसले नेताहरुको जीवन सरल र आदर्शमय हुनेछ । जसले साम्यवाद तर्फ नेतृत्व गर्न सक्ने छ ।

कम्युनिस्ट समाज र संस्कृती निर्माणको बारेमा तपाई गम्भीर देखिनु हुन्छ, अबको दिनमा कम्युनिस्ट समाज र संस्कृती निर्माण कसरी गर्ने सोच्नु भएको छ ? 

यो विषय पनि निकै महत्वपूर्ण छ । महाधिवेशनमा यो विषयमा संभवतः पहिलो पटक हामीले विशेष जोडका साथ उठाएका छौं । पार्टी पंक्ति निकै उद्देलित पनि भएको छ । यसमा हामीले तीन विषय उठाएका छौं । पहिलो पार्टीमा पुरानो र पाको पुस्तालाई सम्मान र स्थापित गर्ने । यदि हामीसंग पुरानो पुस्ता हुँदैनथ्यो भने यो आन्दोलनको संभावना हुने थिएन । उहाँहरुले गरेका दुःख कष्टको कुनै सीमा छैन, तसर्थ यो पुस्तालाई हामीले विशेष महत्वका साथ सम्मान र स्थापित गर्नुपर्छ । उनीहरुको जीवन, व्यवहारलाई हामीले सघाउनु पर्छ । उनीहरुसंग वोल्दा र व्यवहार गर्दा पनि विशेष आदर भाव रहनु पर्छ ।
दोस्रो पार्टीमा धेरै मेहनत र दुःख कष्ट गर्ने नयाँ पुस्तालाई पुरस्कृत गर्नुपर्छ । उनीहरुको जीवनलाई हराभरा बनाउन सक्नुपर्छ । ताकि उनीहरुले आफ्नो सम्पूर्ण जीवन कम्युनिस्ट भएर बिताउन सकुन् ।
तेस्रो हामीले समाजमा नै कम्युनिस्ट संस्कृति निर्माण गरेर जानु पर्छ । त्यसको लागि हामी निकै सामाजिक र सभ्य हुन जरुरी छ । हामीले त समाज स्मृति गृह नै बनाउने भनेका छौं ।
श्रम, मेहनत, अध्ययन, ज्ञान, शिष्टताले भरिएको समाज निर्माण गर्ने हो हामी कम्युनिस्टले ।

तपाईहरु नेपाली क्रान्तिको कार्यक्रम समाजवाद भनिरहनु भएको छ, प्रचण्डहरुले पनि हेटौडा महाधिवेशनबाट समाजवादी क्रान्तिको कुरा गरिरहेका छन् । तपाई र प्रचण्डहरुबीचको भिन्नता के हो ?

हो बाहिरबाट हेर्दा तपाइँले भनेको सहि हो । तर प्रचण्डहरुले भनेको समाजवाद जनताको समाजवाद होइन । कम्तिमा आजको परिस्थितिमा त हुँदैन होइन । यो त उनीहरुले नै भनिसकेका छन् । आज यो व्यवस्था नै मान्ने हो अर्थात् संसदीय व्यवस्थामा बस्ने हो, पछि कुनै बेला समाजवादमा जाने हो भन्छन् । हाम्रो समाजवाद वास्तविक वैज्ञानिक समाजवाद हो । हामीले क्रान्तिबाट दलाल पँुजीवादी संसदीय व्यवस्थालाई परिवर्तन गरेर वैज्ञानिक समाजवादमा जाने भन्ने हो । प्रचण्डको समाजवादले दलाल पुँजीवादमा पतन गराउँछ हाम्रो समाजवादले जनतालाई क्रान्तिको बाटोमा वढाउँछ ।

प्रशङ्ग बदलौं, समकालीन विश्व कम्युनिस्ट आन्दोलनलाई हेर्ने तपार्इंहरुको पार्टीको दृष्टिकोण के हो ? यसका सम्भावना र चुनौती के के हुन् ?

माओको मृत्युपछि कम्युनिस्ट आन्दोलनमा उतार आयो । सोभियत संघको पतनपछि त युग नै सकियो भन्ने प्रचार भयो तर यो सबै पुँजीवादीहरुको वकवास हो । आज पुँजीवाद या उत्तर साम्राज्यवाद संकटग्रस्त छ । युद्ध, विध्वंस, दमनबाट टिक्न खोजे पनि यसको भविष्य छैन । अबको भविष्य भनेको वैज्ञानिक समाजवादको नै हो ।
हाम्रो विचारमा कम्युनिस्टहरुले अन्तराष्ट्र निमार्ण जोड दिनुपर्छ । परिस्थिति अनुसारको विचार निर्माण गर्न जोड लगाउनु पर्छ । पुँजीवाद भन्दा अग्रगामी विचार निर्माण गर्दै क्रान्ति दिने तयारी गर्नुपर्छ । भूमण्डलीकृत विश्वले क्रान्तिलाई सहज पनि बनाएको देखिन्छ ।

अब अर्को प्रशङ्ग वर्तमान राष्ट्रिय राजनीतिलाई कसरी नियालि रहनु भएको छ ? र पछिल्लो पटक विकसित भएको अन्तराष्ट्रिय राजनीतिक घटना क्रमले देशको राजनीतिलाई के कस्तो प्रभाव पार्ने देख्नु हुन्छ ? 

नेपाल संकट र विस्फोटक स्थितिमा छ । हामी कम्युनिस्टहरुले क्रान्तिको नेतृत्व गर्ने तयारी गर्ने हो भने २१ औं शताब्दीको अक्टोबर क्रान्ति नेपालमा हुने सम्भावना छ । यहाँ दलालहरुले अनेक षडयन्त्र गरेर प्रतिक्रियावादी संसदीय व्यवस्था लाद्ने कोसिस गर्दैछन् तर यो निकै कमजोर छ । यसप्रति जनताको विश्वास छैन् । जनताले क्रान्ति खोजिरहेका छन् । नेपालमा क्रान्तिको भविष्य छ ।
अतर्राष्ट्रिय परिस्थिति पनि धेरै पिर गर्नु पर्ने छैन । कुनै पनि साम्राज्यवादले सजिलै हाम्रो देशलाई खाने स्थिति छैन ।
हामीले क्रान्ति गर्दा पनि कुनै विदेशी विरुद्ध होइन हाम्रै देशका जनताको लागि गर्ने हो ।

नेपालमा विशेष गरि साम्राज्यवादी हस्तक्षेप अझ भारतीय साम्राज्यवादी हस्तक्षेपको पछिल्लो कडिलाई तपाईले कसरी नियाली रहनु भएको छ ? 

भारत साम्राज्यवादमा बदलिएको छ । यसले तीन वटा स्वतन्त्र देशलाई खाइसकेको छ । सकेसम्म नेपाललाई पनि खान चाहन्छ । सिदा खान नसकेपछि यहाँका दलालहरु मार्फत् नेपाली स्रोत साधनमाथि नियन्त्रण गरिरहेको छ । नदीनाला, अर्थ, राजनीति, सुरक्षा, संस्कृति सबैतिर नियन्त्रण गर्दै गएको छ । एक प्रकारले सबै अंगहरु बाँधिदिए जस्तो बनाउँदै छ  तर नेपाललाई खान संभव छैन । नेपाली जनतामा राष्ट्रभाव यति गहिरो  छ कि सर्वश्व गुमाएर पनि देश रक्षा गर्न तयार छन् । त्यसमा हामी कम्युनिस्टहरु छौं जसले सम्पूर्ण जीवन देश र जनताको पक्षमा समर्पित गरेर लागेका छौं । यहाँ भारतले सिदा हस्तक्षेप गर्न सजिलो छैन । तर देशलाई दलालहरुको हातबाट भने फुत्काउन आवश्यक छ ।

तपाईंहरुले महाधिवेशनबाट पुँजीवादको पछिल्लो अवस्थालाई उत्तरसाम्राज्यवादको रुपमा सश्लेषण गर्नु भएको छ । उत्तरसाम्राज्यवादबारे प्रष्ट पारिदिनुस् न ।

ठिक भन्नु भयो । साम्राज्यवादलाई हामीले उत्तर साम्राज्यवाद भनेका छौं । यसको मूल कुरामाा हामीले अर्थ राजनीतिलाई लिएका छौं भने संस्कृति र समाजलाई पनि लिएका छौं ।
अर्थ राजनीतिमा आजको विश्व लेनिनले साम्राज्यवाद भन्दा गरेको विश्लेषणमा छैन । यो निकै परिवर्तन भएको छ । हामीले अर्थका पाँच विशेषता भनेका छौं । पहिलो भूमण्डलीकृत चरित्र, दोस्रो निगम पुँजीको विकास, तेस्रो समन्वयकारी रुपको प्रयोग चौथो गतिशिल पाचौं उपभोगवादी । त्यस्तै राजनीतिमा पनि केही विशेषता उठाएका छौं पहिलो प्रतिश्पर्धात्मक चुनावको प्रयोग दोस्रो आवधिक पदावधि तेस्रो समावेशी समानुपातिक, मानवधिकार जस्ता रुपहरुको प्रयोग, चौथो सैन्य शक्तिको विकास । यस्तै प्रकारले हामीले समाजको कुरा पनि भनेका छौं । पहिलो नवउपनिवेशको प्रयोग दोस्रो प्राविधिक समाजको निर्माण तेस्रो धर्म र जातिवादी प्रवृत्तिको विस्तार चौथो सामाजिक सुरक्षा आदि । यी यस्ता विशेषता हुन् जो लेनिनको समयमा थिएनन् । यी विशेषताहरु मध्ये कैयौं कम्युनिस्टहरुबाट नै सिकेका विशेषता छन् ।
उत्तरसाम्राज्य भनेको विशौं शताब्दीको साम्राज्यवाद पछिको समाज जो साम्राज्यवादी कै विकसित रुप हो तर नयाँ छ भन्ने अर्थमा यसलाई प्रयोग गरिएको छ ।

यहाँकै पहलमा स्थापना भएको राष्ट्रिय युवा जनस्वयंसेवकसंग एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत् नेपाली क्रान्ति सम्पन्न गर्न युवाहरुसंग के कस्तो भुमिका अपेक्षा गर्नुहुन्छ ? 

राष्ट्रिय युवा जनस्वयंसेवकका कामहरुबाट हामी खुसि छौं । पछिल्लो समयमा तीनबटा अभियान मार्फत् विचार, पार्टी, क्रान्तिबारे जसरी जनतामा पुगाउने र स्थापित गर्ने काम गर्यो यो निकै महत्वपूर्ण छ । उपत्यकाको तीन महिने अभियान त निकै उपलब्धिपूर्ण भयो ।
युवा कमरेडहरुलाई हामीले भन्नु पर्ने यही छ कि देशको नयाँ भविष्य तपाईहरुको हातमा छ । देशमाथि साम्राज्यवादको आँखा गाडिएको छ । हाम्रो जनताको भविष्यलाई दलालहरुले अन्धकारतिर धकेलिदिएका छन् । यी दुवै चुनौतिबाट देश र जनतालाई मुक्त गर्ने जिम्मेवारी युवाहरु कै हो । हामीले जुन कुनै खतरासंग खेलेर पनि यो जिम्मेवारी पुरा गर्नुपर्छ । युवाबाट सारा राष्ट्र र हामीले गरेको अपेक्षा यही हो ।

लाखौंको संख्यामा बिदेशमा आफ्नो भविष्य खोजिरहेका र देश भित्र प्रताडित युवाहरुको भविष्यको बारेमा के सोचिरहनु भएको छ ? र तपाईले परिकल्पना गरिरहनु भएको क्रान्तिमा युवाहरुसंग तपाईंको अपेक्षा केहो ? 

क्रान्तिको पछिल्लो समयमा प्रचण्ड, बाबुरामले धोका दिएपछि युवाहरुमा ठूलो वितृष्णा पैदा भयो । राजनीति यस्तै रहेछ भने जस्तो भयो तर यतिवेला युवाहरुमा फेरी नयाँ जागरण पैदा भएको छ । यदि क्रान्ति हुन्छ भने एक पटक होमिने भन्ने सोचाई बन्दै छ । यो सोचाइमा विदेशिएका युवाहरु पनि थुप्रै हुनुहुन्छ । पत्र मार्फत् र संगठन मार्फत् यो व्यक्त भएको पाउँदा हामीलाई धेरै उत्साहित बनाएको छ । मैले माथि नै भने युवाहरु जति नै संकट परे पनि जति नै हैरानी खप्नु परे पनि आफ्नो देशलाई नवदले सम्म र आफ्नो भविष्य आफैंले निमार्ण नगरेसम्म हामीले कहिल्यै पनि स्वाभिमानको जीवन बाँच्न पाउने छैनौं । संसारका सबै परिवर्तन र समृद्धिहरु हाम्रै जस्ता दुःख कष्ट झेलेरै प्राप्त भएका हुन् । हामी एक पटक देशको लागि योगदान गर्न तयार बनौं, देशलाई बदल्न सकिन्छ । हामी जनतालाई कहिल्यै पनि धोका दिने छैनौं ।

अन्तमा हाम्रो प्रकाशन मार्फत् केही भन्नु हुन्छ की ?

युवा कमरेडलाई आग्रह गर्छु कि हामीसंग केही न केही नयाँ सपना र आकाँक्षा हुनै पर्छ । सपनाहरुले केही मूल्यको माग गर्छन् हामीले ती पुरा गर्यौं भने यो संसारमा असंभव भन्ने केही छैन । क्रान्तिकारीहरुले केही गर्ने बेला आएको छ मन फुकाएर गरौैं ।
(जनस्वयंसेवकमा प्रकाशित)





0 comments

Write Down Your Responses