अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ ।

कविता
पूर्ण विराम
कोइलाबासकै उजाड नरमाइलो बस्ती भएर
खोप्राहरु लछारिएका छन् र पछारिएका छन्
परिचित भवनका दलिनहरु सड्दै मक्किन थालेका छन्
झण्डामा छेर्न थालेका छन् माकुराहरुले
र भान्छामा रगरगाउन थालेका छन् छेपाराहरु्
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ
दाम्लो छिनाल्दै गाईहरु भाग्न थालेका छन्
र गोठमा अर्नाहरु एकत्रित भएका छन् ।
एउटा घेरामा भने हरपल व्यञ्जन वर्सिरहेकोे छ
अर्को घेरामा भने उही पुरानो ताप्केमा
घुन मिसिएको पीठो पानी भित्र छड्किरहेको छ
गाउँमा झिना औँलाहरुले फापरको सागलाई चिमोटिरहेका छन्
सहरभित्र अवतरित औँलाहरु दिनप्रतिदिन मोटाइरहेका छन्
र चाँदीको चम्चाले पाक्दै गरेको च्याउलाई चलाएर जाँच गरिरहेका छन्
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ
कमिलाहरु मर्न थालेका छन् र अजिङ्गरहरु
महोत्सव मनाउने तयारीमा आराम गृहमा आराम फरमाइरहेका छन् ।
भीरहरु खोजिरहेका छन् जोन अफ आर्कहरुलाई
र नदीमा मिसिएका कुलाका पानीहरुले
कमै नलाग्ने बनाएका छन् नेत्र अभागीका कविताहरुलाई
बतासका ओढ्नीहरुले गुटमुटाएका छन् लुसी ग्रेहहरुलाई
र बेपत्तका पोकोलाई अविरको पहिरोले थिचेको छ
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ
ऋषेश्वरहरुको इतिहासमा आगो लाग्न थालेको छ
र एक धुर मात्र जमिन जित्ने सिकन्धरका दम्भहरुले
सगरमाथाकै चुचुरो चढेको घोषणा गरिरहेका छन् ।
चिप्ले किराहरुले हरेकलाई चिप्ले किराकै जुनीमा आवद्ध हुन
सनासो बोक्दै धम्क्याइरहेका छन्
नमान्नेलाई दुम्सीको काँडाले घोचिदिने आतसबाजी उडाइरहेका छन्
मुर्दाहरु नै मुर्दाको मलामी गइरहेको यस्तो दृष्य कहिल्यै देखिएन
अलपत्र परेको युद्धको नतिजा यस्तै छ
कृतिम फूलहरु नयाँ कोट लगाउनेहरुले आफ्नो कोटमा घुसारेका छन्
र दमनाहरु नौलो दमनको अदृष्य पाङ्ग्रोमा किचिएका छन् ।
अलपत्र परेको युद्धको नतिजा यस्तै छ
यो तातो अलकत्रा भन्दा पनि तातो
मनहरु पोल्ने आगोको भट्टी जस्तो छ
जाकेरीहरुले पाएका छन् भी.सी. तक्माहरु
र वीर सिपाहिहरुको रोदनले वातावरणहरु भरिभराउ भएका छन्
भैंसीको टाउको शरीरमा झुन्ड्याउनेलाई
अलपत्रमा परेको युद्धको नतिजा राम्रो छ
मानिसको नै टाउको बोकेर विचरण गर्न चाहनेलाई
यो हेमलकभन्दा एकदमै विषाक्त छ
अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ ।
(जनसांस्कृतिक योद्दा सम्मान कार्यक्रम २०७४ बैशाख १३ गते बाचन गरेको कविता)


0 comments
Write Down Your Responses