कसले बेपत्ता पार्यो सीमा स्तम्भ नं. २०० ?
२०३० सालपछि २०३७ सालका बिचमा बाढी, पहिरो पीडित र सुकुम्बासी तथा मकवानपुर, चितवन, पर्सा र नवलपुर क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका नागरिकसमेतलाई स्थानान्तरण गर्ने उद्देश्यले कञ्चनपुरको दक्षिण–पश्चिम भागमा जङ्गल फाँडेर पुर्नवासको व्यवस्था गरिएको थियो । सरकारी उदासिनता र भारतीय दादागिरीका कारण सो बस्ती सधैं अपमानित र प्रताडित हुँदै आएको छ । त्यसको पछिल्लो कडी हो, गत चैत्र २६ को घटना । जसमा १ जना गम्भिर घाइते र एकजना स्थानिय नागरिकको ज्यानसमेत गयो ।
पुनर्वास क्षेत्रमा आनन्द बजार नामको पातलो नेपाली बस्ती छ । सो क्षेत्रमा पटकपटक भारतीय पक्षले नेपालीलाई आक्रमण र लुटपाट गर्दै आएका छन् । पछिल्लो घटना १८औं घटना भएको त्रिभुवन बस्ती इ.प्र.का.का निरीक्षक दलबहादुर टमाटाको छ । नेपाल–भारत १,८८० कि.मी. सीमारेखाको विद्यमान तनावका कारण भारतीय पक्षबाट कञ्चनपुरका गोविन्द गौतम (३२ वर्ष) सहित ५ नेपालीको मृत्यु भैसकेको छ ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपालका ७१ स्थानको ६ सय ६ वर्ग कि.मी. जमिन भारतीय अतिक्रमणमा परेको छ । जसमध्ये दार्चुला लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा ३७० वर्ग कि.मी. अतिक्रमण गरी भारतीय सेना बसेको छ । त्यो अतिक्रमित क्षेत्रलाई भारतले ‘कालापानी’ भन्ने गरेको छ । त्यसपछि सुस्ताको १४५ वर्ग कि.मी. छ । दार्चुलादेखि ताप्लेजुङ्गसम्म तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) २०५८ बाट सीमामा तैनाथ गर्न थालिएको हो । २०६० सम्म ३१ हजारको संख्यामा रहेको सो फौज सन् २०१७ सम्म पुग्दा ९१ हजार पुग्याइएको छ । नेपाल तर्फबाट उही सीमामा जम्मा ९ हजार सशस्त्र प्रहरी (भारतको तुलनामा १० प्रतिशत) मात्र तैनाथ गरिएको छ । भारतका ४ सय ७० वटा सीमा चौकी छन् भने नेपालका जम्मा ८७ वटा जाँच चौकी र २१ वटा सीमा सुरक्षा कार्यालय छन् । अझ अनौठो विषय त के छ भने एसएसबी दशगजाको ५० मिटर देखि ५०० मिटरको दुरीमा बसेको छ भने नेपाली सुरक्षा चौकी १ कि.मी. देखि ५ कि.मी. टाढा बसेका/राखिएका छन् । अपवाद भन्नुपर्छ आनन्दबजार (कञ्चनपुर)को नेपाली चौकी एसएसबी भन्दा पनि सीमा नजिक र विवादित जग्गामै जोडिएर बसेको छ ।
नेपाली बस्ती आनन्द बजारको सीमापारी भारतको बसाई बजार रहेको छ । आनन्द बजार (नेपाल) र बसाई बजार (भारत) का बीचमा घोल (गड्डा) रहेको छ । सो घोल (पश्चिम नेपालको बोली गाड) वर्षात्मा बढेर आवतजावत गर्न कठिन हुन्छ । त्यसकारण सो गाडमा नेपाली पक्षले सिमेन्टको कल्भर्ट राखेर पुल बनाउँदा त्यसलाई भारतीयहरूले आफ्नो भूमिमा अतिक्रमण गरेको भन्दै विरोधमा उत्रिए । भारतीय पक्षले सो कल्र्भट भत्काउन खोज्दा नेपाली जनताले प्रतिकार गरे । भारतीय पक्षले पटकपटक ज्यादती गरेपछि र नेपालहरू घाइते भएपछि चैत्र २६ गते धनगढीदेखि महेन्द्रनगरसम्मका हजारौं नेपाली आनन्द बजार ओइरिए । नेपालीले भारतीयलाई लखेट्दै भारतीय भूमिसम्म पुर्याएपछि भारतीय पक्षले गोली चलाउँदा गोविन्द गौतमको मृत्यु भएको हो । सो घटनामा प्रत्यक्षरुपले सहभागी पुर्नवास न.पा.–७, च गाउँका विरबहादुर तामाङ भन्छन् “बिहान साथीहरूले आनन्द बजार बोलाए । भारतीयहरूले नेपालीलाई मारपीट गरे भनेपछि ६ जना साथीहरू त्यता गयौं । २५ गते कल्र्भट भत्काउन भारतीय आएछन् । उनीहरूलाई बसई बजारसम्म लखेट्यौं । हामी सबैभन्दा अगाडि थियौं ठानेदार (कोतवाला भारतीय भाषामा) ले गोली चलायो । एसएसबीले आकाशमा गोली चलायो ।” सञ्चारमा एसएसबीको गोलीले हत्या भएको भनेपनि बसई बजारस्थित थानाका थानेदारको गोलीले नेपालीको हत्या भएको प्रत्यक्षदर्शीको भनाइ छ । भारतका एसएसबी र जनपद दुवैले गोली चलाएको प्रत्यक्षदर्शीको भनाइ छ । “च गाउँ, रामबस्ती, बेलौरी, बेलडाँडी, लालझडी, धनगढी लगायतबाट हजारौंको संख्यामा नेपालीहरू त्यसदिन आनन्द बजार ओइरिएका थिए” देशभक्त स्थानीय युवा तामाङ भन्छन् । घटना घटेपछि नेपाली प्रदर्शनकारीहरुले ‘विप्लव आऊ, देश बचाउ’ नारा लगाएका थिए । घटना लगतै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द घोषणा गरेको थियो भने देशभर भारतका विरुद्धको आक्रोश सडकमा पोखिएको थियो । कञ्चनपुर, पुर्नवासको आइवीआरडी बजारका भारतीय नागरिक मुन्ना खानको घर तोडफोड गरेका थिए । सीमा नजिकै रहेको बाल–जागृती प्रा.वि.को प्राङगनमा रहेको भारतीय वाहनमा आगो लगाएर धनगढी र महेन्द्रनगरमा भारतीयहरूको भागाभाग भएको स्थानीय युवा जितमान तामाङ बताउँछन् ।
घटना भएको एक महिना नाघ्दा पनि बसई बजार बन्द थियो र छ । तनाव यथावत छ र नागरिकहरू एक अर्काको भूमिमा आवत्जावत गर्न सकेका छैनन् । चैत्र २५ गते नापी विभाग प्रमुख निर्मल आचार्य, नापी अधिकृत दिनेश सुवाल र भारतीय पक्षबाट उत्तरप्रदेश, लखिमपुर, खिरीक्षेत्रका समकक्षीहरूको संयुक्त टोलीले विवादित क्षेत्रको हराएको २०० नम्बरको सीमास्तम्भ खोजी गरेको छ ।
अवकाश प्राप्त सैनिक जवान तथा स्थानिय प्रत्यक्षदर्शी उत्तम चन्दले तस्करहरूकै नेतृत्वमा सङ्घर्ष समिति बनाएर पीडित जनता ठग्ने षड्यन्त्र भैरहेको आरोप लगाए । झडपपछि विस्थापित स्थानिय पसलेको घरमा सशस्त्र प्रहरी बसेको अवस्था छ । विवादित कल्र्भट वारी सानो थुम्को छ । जसलाई दुम्केडाँडा भनिन्छ । दुम्के डाँडावारी नेपाली बस्ती छ भने पारी भारतको वनक्षेत्र रहेको छ । दुम्केडाँडा क्षेत्रमा पटकपटक झडप र तनाव भएका कारण सो डाँडालाई स्थानियले ‘कारगिल डाँडा’ भन्न थालेका छन् । धनगढी–आनन्दबजार २५ कि.मी. दुरी छ । पुर्नवास न.पा. देखि कारगिल डाँडाको दुरी ८ कि.मी. रहेको छ । आनन्दबजारदेखि उत्तर–पश्चिम ५०० मि. फैलिएको आनन्दबजार (नेपाली बस्ती) र त्यसपछि दशगजा छ । विवादित कल्र्भट पारी ३२ विघा, पश्चिम १३ विघा र पूर्व ९ विघा जग्गाको लालपुर्जा नेपालीको छ । तर ती जमिनमा भारतीय दाबी छ । २०६२ जेठमा बाल जागृती प्रा.वि. परिसरमा आएर भारतीयले सीमा स्तम्भ बनाउन खोजेपछि नेपालीले विरोध गर्न थालेका हुन् । फागुन ७ गते दुवै देशका सुरक्षाकर्मी, प्रशासक र स्थानियबीच कल्र्भट बनाउने सहमती भएको र २५ गते भारतीयले पूर्वसहमती उल्टाउन खोज्दा घटना भएको हो ।
विवादित क्षेत्रभन्दा पश्चिममा सीमास्तम्भ १९९ छ र पूर्वमा २०१ नम्बर स्तम्भ छ भने २०० नम्बरको सीमा स्तम्भ गायब छ । त्यहाँ भीर, पहिरो, नदी कटान केही नभएका कारण सो स्तम्भ जानीबुझी नेपाली भूमि हडप्ने मनसायले गायब गरेको देखिन्छ । नेपालीको आवतजावत नभएका कारण भारतको बसई बजार अझै बन्द छ । कञ्चनपुर र धनगढी क्षेत्रमा भारतीय ज्यादतीका विरुद्ध जनमत छ । विवाद यथावत छ । त्यसैले सो क्षेत्रको समस्याको स्थायी समाधान भएन भने कुनैपनि बेला झडप दोहोरिन सक्छ ।
(विरबहादुर थापा ‘विज्ञान’, गौरीसहितको सहयोगमा आनन्दबजारको स्थलगत भ्रमणबाट फर्केपछि –अनिल शर्मा)


0 comments
Write Down Your Responses