महराको वैचारिक अवशान



समाचार विश्लेषण
जेठ २६, काठमाडौं । कृष्ण बहादुर महरा लिवाङ मा.वि. रोल्पाका प्रधानाध्यापक मात्र रहेनन् । माओवादी जनयुद्धले उनलाई कमरेड अम्मरसिंह बनायो । मास्टरी पेशा छोडेर पूर्णकालिन राजनीतिमा हाम्फालेका महराले राजनीतिक जीवनमा कहिल्यै पछाडि फर्कनु परेन अर्थात् उनी सफलताको शिखर चढिरहे । २०४८ मा भएको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट विजय हाँसिल गरेपछि महराले पहिलोपटक सिंहदरबारको यात्रा तय गरेका थिए । २०५१ मा भएको मध्यावधी निर्वाचन बहिस्कार गरेर २०५२ सालमा जनयुद्ध सुरु भएपछि उनको राजनीतिक उचाई आफूभन्दा बरिष्ठ नेताहरुलाई पछाडि पार्दै यिनले ह्याट्रिक हानिरहे । २०५८ को पहिलो बार्तामा आइपुग्दा उनी आफूभन्दा सिनियर टोपबहादुर रायमाझिको पनि नेता भइसकेका थिए बार्ता टोलीको संयोजकको रुपमा । प्रचण्डको विश्वास पात्रको रुपमा महराले उही बेलादेखि आफ्नो राजनीतिक उचाई विकास गर्न सकिरहे ।

२०५९ माघ १५ गते दोस्रो पटक भएको युद्ध विराममा पनि उनी वार्ता टोलीको हर्ताकर्ता नै थिए । बाबुराम भट्टराई बार्ता टोलीको संयोजक भएपनि प्रचण्डका विश्वास पात्र र दरबारले समेत विश्वास गर्न सक्ने प्रतिनिधिका रुपमा महराको उपस्थिति उल्लेखनीय थियो । स्मरणीय छ त्यतिबेला दरबारले बाबुराम भट्टराईलाई बार्ता टोलीको संयोजकको रुपमा अस्विकार गरेको थियो ।

१२ बुँदे समझदारी कायम गराउन महराकै नेतृत्वमा बाबुराम भट्टराईलाई समेत कार्वाहीकै बेला दिल्ली पठाएर प्रचण्डले महराको आन्तरिक र बाह्य राजनीतिक उचाई स्थापित गराईदिएका थिए । (भट्टराईलाई त्यतिबेला लोकतान्त्रिक गणतन्त्रको एजेण्डा उठाए बापत प्रचण्डले कार्वाही गरेका थिए ।) त्यही १२ बुँदे समझदारी पछि शुरु भएको शान्ति प्रकृयाको आधार यता सिंहदरबारमा मन्त्रिको कुर्सीमा विराजमान हुने अवसर अहिलेसम्म जारी छ महरालाई । गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा पार्टीको तर्फबाट पहिलोपटक मन्त्रि भए यता माओवादी सरकारमा सहभागि हुँदा एकाध पटक बाहेक मालदार मन्त्रालय पाउने भाग्यशाली अवसर उनका निम्ति खुल्ला नै रह्यो । कहिले संचार मन्त्रिको रुपमा त कहिले गृह, कहिले अर्थ र परराष्ट्र मन्त्रि । माओवादी बृत्त भित्र र बाहिर शालिन एवम् भद्र नेताको छवि बनाएका कमरेड अम्मरसिंहको भित्रीय छवि भने अध्याँरो कुनाको कालो छायाँ झैं छ भन्ने कुराको पुष्टी हुन धेरै समय लागेन ।

दुर संचार सेवा प्रदायक कम्पनीलाई लाइसेन्स वितरण गर्दा भएको घोटाला र राज्य लुटलाई यिनै महराले संस्थागत गरे । अर्कोतिर लडाकु घोटाला प्रकरणको सबै प्रकृया यिनैको नाममा जोडियो भने सांसद खरिद विक्रि गर्न चिनियाँ व्यापारिसँग ५० करोड मागेको काण्ड भारतीय दुताबासले उजागर गरिदियो । जतिबेला भारतसँग सम्बन्ध विग्रेर प्रचण्ड प्रधानमन्त्री बन्नकालागि संसदमा बहुमत जुटाउन प्रयासरत थिए जसको लागि भारत बाधक बनिरहेको थियो । भारतीय दुताबासले नै नेपाली संचारमाध्यम मार्फत् यो प्रकरण बाहिर ल्याइदिएको थियो ।

महराको शालिनता भित्र लुकेको अर्को कालो तथ्य भनेको उनी क्रिश्चियन धर्म भिरु हुन् भन्ने प्रसंग हो । बाइबल टाउकोमा राखेर हात जोड्दै क्रिश्चियन धर्म ग्रहण गरिरहेको तस्विर सार्वजनिक भएपछि उनीमाथि लाग्दै आएको आरोप पुष्टि भएको थियो । यिनै महरा मार्फत् पास्टर डा. के.वी. रोकायले प्रचण्ड लगाएत नेताहरुलाई क्रिश्चियन मिशनको निकट पुर्‍याइदिएका थिए । कम्युनिस्ट पार्टीको उच्च नेताको धर्मभिरु पाखण्ड त्यतिमा सिमित रहेन । परराष्ट्र मन्त्रि भएको केही घण्टा नवित्दै तथाकथित सन्त कृष्णदासजी महाराजसँग आशिर्वाद लिइरहेको तस्विर सार्वजनिक भएपछि थाहा हुन्छ यिनी कति पाखण्ड थिए भन्ने कुरा । दुनियाँलाई नास्तिक हुन सिकाउने महराको धर्मभिरु चरित्र दुनियाँकोलागि मजाकको विषयमात्र होइन उनले ओडेको मार्क्सवादकाे च्यादर केवल एउटा बैचारिक दरिद्रताको पराकाष्टा रहेछ भन्ने कुरा पुष्टि हुन्छ ।


पछिल्लो पटक परिस्थितिबस चिन निकट हुन पुगेको के.पी. ओली सरकार (माओवादी केन्द्र स्वयम् संलग्न सरकार) गिराएर काँग्रेस माओवादी केन्द्र गठबन्धन निर्माण गर्न विशेष भुमिका खेल्दै महरा दिल्ली पुगेका थिए । दिल्लीमा भारतीय संस्थापन पक्षको रोहबरमा अहिलेको गठबन्धन निर्माण गराउन विशेष भूमिका निर्वाह गरेबापत प्रचण्ड सरकारमा अर्थमन्त्रिको पद हाँसिल गरेका उनै महरा अहिले देउवा नेतृत्वको सरकारमा उपप्रधान एवम् परराष्ट्र मन्त्रीको कुर्सीमा विराजमान हुन पुगेका छन् । यिनै महरा कुनै बेला पार्टी भित्रको अन्तरसंघर्षमा मोहन बैद्य निकट थिए । महरा पछिल्लो पटक इन्डो अमेरिकन धारको प्रभाव नेपालमा विस्तार गर्न सक्रिय एक प्रतिनिधिको रुपमा रहेको कुरा दिनको घाम झैं छर्लङ्ग भइसकेको छ ।

0 comments

Write Down Your Responses