माओवादी केन्द्रका कार्यकर्ताहरुद्वारा एमालेका कार्यकर्ताहरुमाथि आक्रमण– एकको मृत्यु, एकजना गम्भिर घाइते
बैशाख २७, दोलखा । माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट गौरीशंकर गाउँपालिका–१ जुँगुमा एक एमाले उम्मेदवारका छोराको ज्यान गएको छ ।
माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता गौरीशंकर गाउँपालिका–१, जुगुका अन्दाजी ३३ वर्षका राजेश भनिने कुल बहादर तामाङको ज्यान गएको प्रहरीेले जनाएको छ । आक्रमणबाट अर्का एकजना घाइते भएका छन् ।
तामाङका बुबा स्थानीय तह चुनावमा खुल्लाबाट वडा सदस्यको पदमा उम्मेद्वार छन् । आक्रमणमा परी झडपमा जुगु निलकण्ठेश्वर माविका शिक्षक समेत रहेका गौंरीशंकर गाउँपालिका–२ का दिल बहादुर बुढाथोकी घाइते भएका छन् । घाइते बुढाथोकीको अवस्था गम्भिर रहको र थप उपचारकालागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार राती एमाले कार्यकर्ता बास बसेको ठाउँमा माओवादीका कार्यकर्ताले आक्रमण गरेका स्थानीय बासीले जनाएका छन् । प्रहरीले भने घटना कसरी भयो भन्नेबारे अनुसन्धान भैरहेको जनाएको छ । झडपमा एमाले कार्यकर्ताले प्रयोग गरेको तीनवटा मोटरसाइकल र तीनवटा बोलेरो जीपमा आगोसमेत लगाएको छ ।



0 comments
Write Down Your Responses