विप्लवको युवा संगठनको विशेष निर्देशन : बाढी पहिरो पीडित जनतालाई राहत र उद्धार गर



श्रावण २८, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले केही दिनदेखि परेको अविरल वर्षाको कारण बाढी पहिरोमा परी विपत्तिमा परेका जनसमुदायको उद्धार र राहतको लागि सरकारसँग माग गरेको छ । आज साँझ संगठनको केन्द्रीय कार्यालयको तर्फबाट महासचिव बाबुराम राईले एक विज्ञप्ति जारी गर्दै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, सप्तरी, ताप्लेजुङ मध्य नेपालको चितवन र पश्चिम नेपालको दाङलगायतका ठाउँहरुमा अपुरणीय मानवीय एवम् भौतिक क्षतीले संगठनलाई दुःखित बनाएको जनाउनु भएकोछ । साथै यो विपत्तिमा परी ज्यान गुमाउनेहरुमा संगठनको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनहरुप्रति समवेदना प्रकट गरेको छ । 
प्राकृतिक विपत्तिमा परी मृत्यु भएका परिवारजनलाई क्षतीपुर्ती र विपत्तिमा परेकाहरुलाई व्यवस्थापन गर्न पनि संगठनले सरकारसँग जोडदार माग गरेको छ । विगतमा झैं देश र जनतालाई आइपरेको यो प्राकृतिक विपत्तिमा जनताको साथमा गएर राहत र उद्दार गर्न मातहतका सबै नेता कार्यकर्ताहरुलाई विशेष निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्ण पाठः
विगत केही दिनदेखिको अविरल वर्षात्का कारण बाढी र पहिरोमा परी देशका विभिन्न ठाउँहरु खासगरी पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, सप्तरी, ताप्लेजुङ मध्य नेपालको  चितवन पश्चिम नेपालको दाङ लगाएतमा भएको अपुरणीय मानवीय एवं भौतिक क्षतिले संगठनलाई दुःखित बनाएको छ । जब–जब देश र जनतामाथि संकटको भूमरी चल्छ तब–तब हाम्रो गौरवशाली संगठन ‘जनताको सेवक, राष्ट्रिय युवा जनस्वयंसेवक’ चट्टानी अडानका साथ जनताको घर आँगन र सडकमा ओर्लिएको कुरा सर्वविदितै छ । भारतीय नाकाबन्दीले आहात हुँदा छेडिएको अभियानदेखि भारतले लिपुलेकमा सीमा मिच्दा भारतीय विस्तारवदी हस्तक्षपको विरुद्ध सीमा मिचिएको लिपुलेक हाम्रो हो भन्ने अभियान संचालनले पुष्टी गरेको अवगत गराउन चाहन्छौँ । आज राजनीतिक चपेटा मात्र नभई प्राकृतिक प्रकोपको चपेटामा नेपाली जनता लपेटिन विवस भई उक्त प्रकोपद्वारा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । 
प्राकृतिक विपत्तिमा परी मृत्यु भएका मृतकका परिवारलाई क्षतीपुर्ती राहत र व्यवस्थापन गर्न अविलम्ब नेपाल सरकार सामु जोडदार माग गर्दछौं । यो आपतकालीन विपत्तिमा परी भएको जनधनको क्षती र भौतिक पूर्वाधार व्यवस्थापनप्रति सरकार लगायत सम्पूर्ण सरोकारवाला  पक्षलाई अपिल गर्दै हाम्रो संगठन राष्ट्रिय युवा जनस्वयंसेवकमा आवद्ध देशैभरीका सबै सदस्यहरुलाई यस राष्ट्रिय जनविपत्तिको बेला उद्धार कार्यमा जुट्न विशेष निर्देशन गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित ।




0 comments

Write Down Your Responses