दोस्रो चरणको स्थानीय चुनाव अगावै संविधान संशोधनको माग, प्रतिगमन रोक्न चुनावमा गयौं– उपेन्द्र
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय चुनाव अगावै संविधान संशोधन हुनुपर्ने माग गरेका छन् ।
राप्रपाका १० सांसद ‘हराए’पछि १७ गते संविधान संशोधन विधेयक पास गर्ने सरकारको तयारी प्रभावित भएको थियो । यससँगै १९ गते हुने उम्मेदवारी दर्तामा मधेसी मोर्चामा आवद्ध दलहरुको सहभागिताबारे प्रश्न उठेको थियो ।
तर, मोर्चामा आवद्ध फोरमले काठमाडौं उपत्यकासहितका जिल्लामा उम्मेदवारी दिएको छ ।
मधेसी मोर्चामा आवद्ध ६ दलको नवगठित राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारी त दिएन । तर, संशोधन नभएको भन्दै प्रतिक्रियात्मक कदम चालेको छैन ।
बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी फोरम अध्यक्ष यादवले संशोधन पास गर्ने बेलामा प्रतिगामी शक्तिले चलखेल गरेको दाबी गरे । उनले भने, अर्कातिर राप्रपाका १० सांसद गायव भए भने अर्कोतिर एउटा पुलिस अफिसरको बाहानामा प्रधान्यायाधीशमाथि महाअभियोग लगाउने काम भयो ।’
गणतन्त्र, संघीयता र समावेशीतालाई नै समाप्त पार्ने खेल भएको दाबी गर्दै यादवले त्यसलाई असफल पार्न आफ्नो पार्टीले उम्मेदवारी दिएको बताए । साथै सरकारसँग पहिलो चरणको चुनावपछि र दोस्रो चरणको अघि संशोधन पास गर्ने सहमति भएकाले पनि आफूहरु चुनावमा गएको उनले बताए ।
आफूहरु संशोधनको पक्षमा रहेको भन्दै फोरम अध्यक्ष यादवले भने, ‘फोरमले मुद्दा छाड्यो भन्नु गलत हो ।’
उनले पहिलो चरणको चुनावपछि संशोधन नभए दोस्रो चरणको चुनाव हुन नसक्ने चेतावनी समेत दिए । ‘प्रतिवद्धता अनुसार संशोधन भएन भने दोस्रो चरणको चुनाव हुँदैन र पहिलो चरणको पनि अर्थ रहँदैन’ उनले भनेका छन् ।


0 comments
Write Down Your Responses