कांग्रेसको सभा नजिकै बम बिस्फोट

बैशाख २८, काठमाडौं । नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली कांग्रेसले आयोजना गरेको कोणसभालाई लक्षित गरी बम बिस्फोट भएको छ । महेन्द्रराजमार्गको नजिकमा भएको बिष्फोटबाट मानवीय क्षति भने भएको छैन ।

कावासोती नगरपालिका वडा–३ मा कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार अमृत श्रेष्ठले कोणसभा गरिरहेको अवस्थामा ४० मिटरको दुरीमा बम बिस्फोट भएको हो । ठुलो आवाजमा बम बिस्फोट भएपछि कोणसभामा भेला भएका स्थानीयहरु भागदौड मच्चिएको थियो । आगाको मुस्लोसहित निकै ठुलो आवाजमा बम बिस्फोट भएपछि कोणसभा वरवर धुलाम्मे भएको थियो ।

कोणसभामा बोल्दाबोल्दै ठुलो आवाजमा बिस्फोट भयो । सबै भागाभाग भैयो,’ उम्मेदवार अमृत श्रेष्ठले भने, ‘हेर्दाहेर्दै सडक धुलाम्मे भयो र ज्यान जोगाउन भाग्यौं ।’

महेन्द्रराजमार्गमा रहेको त्रिनेत्रबाबा पेटेल पम्पदेखि एकसय मिटर पूर्वमा रहेको पिपलको चौतारीमुनी साँझ पौने ७ बजे बम बिस्फोट भएको हो ।

नवलपरासीमा तीनजना मेयरका उम्मेदवारको घरबाहिर सकेट बम राखिएको २४ घण्टा नबित्दै व्यस्त राजमार्गमा बम बिस्फोट भएको हो ।

बम बिस्फोट भएको क्षेत्र वरपर टिनको पाताका टुक्राहरु छरिएको भेटिएको घटनास्थलमा पुगेका डिएसपी राजेश थापाले बताए ।

बिस्फोट गराउनेहरुको खोजतलासकालागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।

0 comments

Write Down Your Responses