समाचार संकलन गरिरहेको अवस्थामा पत्रकार गिरफ्तार/तुरुन्त रिहा गर्न पत्रकार संगठनहरुको माग (विज्ञप्ति सहित)

जेठ २, काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखा कार्यसमिति सदस्य विकाश भट्टराईलाई गोरखाबाट प्रहरीले गिरफ्तार गरेको छ ।

समाचार संकलन गरेर कार्यालय फर्कने क्रममा हरमटारी बजारबाट प्रहरीले  बिना पुर्जी भट्टराईलाई गिरफ्तार गरेको हो ।

उनलाई गैरकानूनी रुपमा गिरफ्तार गरेको भन्दै आमसंचारकर्मीले विनासर्त अविलम्ब रिहा गर्न माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रका सचिव प्रभात चलाउनले पत्रकार भट्टराईको तत्काल रिहा गर्न माग गरेका छन् । ‘पत्रकार आफ्नो व्यावसायिक कर्ममा खटिरहेका बेला बिनापूर्जी पक्राउ गर्नु कानूनको ठाडो उल्लंघन हो । उहाँलाई तुरुन्त रिहा गर्न माग गर्दछौं’ सचिव चलाउनले भने ।

पछिल्लो समयमा राज्यले प्रेससम्बन्धी संविधानमा व्यवस्था गरिएको विचार, अभिव्यक्ति र प्रेस स्वतन्त्रताको धज्जी उडाउने क्रमलाई तीव्रता दिएको बताउँदै अहिलेसम्म देशभरबाट गिरफ्तार गरिएका सम्पूर्ण पत्रकारलाई तुरुन्त रिहा गर्न नेपाल पत्रकार महासंघले सरकारसँग जोडदार माग गर्दै आइरहेको छ ।
भट्टराई नेटपत्रिका डटकमका निर्देशक समेत हुन् । के कारण उनलाई गिरफ्तार गरिएको हो भन्नेबारे अहिलेसम्म केही बताएको छैन ।

जनपाटी मिडियाप्रा.लि.का अध्यक्ष तथा कम्युनिस्ट आउटलुक मासिकका सम्पादक सुदर्शन मंगोललाई पनि काठमाडौंको असनबाट प्रहरिले गिरफ्तार गरेको छ ।


प्रेस विज्ञप्ती
प्रथम चरणको स्थानीय चुनाव सकिएर मत गणना भइरहँदा पत्रकारहरुलाई बिभिन्न ठाउँबाट धम्की दिने, गिरफ्तार गर्ने र मानसिक यातना दिने क्रम पनि बढिरहेको छ । सरकारका विभिन्न संयन्त्रमा रहेकाहरुबाटै पत्रकारहरुले दुःख खेप्नु परिरहेको छ । साथै गृहप्रशासनको ठाडो आदेशमा देशभर पत्रकार गिरफ्तार हुने क्रम अझै रोकिएको छैन । यसप्रति क्रान्तिकारी पत्रकार संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । 
यसैक्रममा आज गोरखामा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कार्यसमिति सदस्य तथा जनता टेलिभिजनका गोरखा जिल्ला संवाददातालाई प्रहरीले मंगलबार गोरखा बजारमा दिउसै गिरफ्तार गरेर हिरासतमा पुर्याएको छ । जनता टेलिभिजनको जकेट लगाएर रिपोर्टिङमा हिडिरहेको बेला उनलाई समातिएका कारण प्रहरी प्रशासन र सरकार प्रेसप्रति निकै अनुदार छ भन्ने प्रष्ट हुन्छ । विना कुनै कारण, विना पक्राउ पुर्जी यसरी एउटा पत्रकार प्रेसको पहिचान भएको जकेट लगाएर रिपोर्टिङ गरिरहेकै बेला पक्राउ गरिन्छ भने अरु सर्वसाधारण जनताको अवस्था कस्तो होला भन्ने संकेत यसैबाट प्रष्ट हुन्छ । हामी यस प्रकारका गैरकानुनी हर्कत तत्काल बन्द गर्न र कानुनी राज तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गर्दछौ । स्थानीय निर्वाचनकै क्रममा अहिले पनि अरु थुप्रै पत्रकारहरुलाई पक्राउ गरेर हिरासतमा राखिएको छ । रोल्पाका पत्रकार पुष्टमान घर्ती मगर, रुकुमका पत्रकार हरिविष्णु ओली, काठमाडौंका पत्रकार ठाकुर प्रसाद तिमिल्सिनालाई अहिले पनि प्रहरीले हिरासतमा राखेको छ । उनीहरु सबैलाई समाचार लेखेका भरमा गृहप्रशासनले पक्राउ गरेको हो । 
त्यसैगरी अर्थसरोकार डटकम आर्थिक अनलाईन पत्रिकाका सम्पादक सुरज प्याकुरेललाई समाचारकै विषयलाई लिएर निरन्तर धम्की आएको छ । काभ्रे जिल्ला घर भएका हरीराम प्याकुरेल नाम गरेका व्यक्तिले पत्रकार सुरज प्याकुरेललाई पटक पटक धम्की दिनुका साथै उनका परिवारका सदस्यहरुलाई पनि फोन मार्फत धम्की दिएको थाहा भएको छ । यसरी एउटा पत्रकारलाई विभिन्न किसिमका धम्की दिने, परिवारका सदस्यलाई समेत फोन गरेर त्रास उत्पन्न गराउने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न हामी सरकारसँग माग गर्दछौं । 

प्रभात चलाउने
अध्यक्ष 
क्रान्तिकारी पत्रकार संगठन, नेपाल

0 comments

Write Down Your Responses