रुकुमको खारामा भोट माग्न डराउछ्न उम्मेदवार

बैशाख २३, रुकुम ।
जनयुद्धको केन्द्रको रुपमा रहेको, चरम राज्यआतंकबाट पीडित भएको रुकुमको खारामा उमेदवारहरु चुनावमा भोट माग्न डराउछन् ।

त्रिवेणी ३ खाराका नरबहादुर ओलीलाई चुनावबारे कुनै मतलब छैन । द्वन्द्वकालमा छोरा, दाइ, भतिज सबै गुमाएका ओलीले भने– भएको घर पनि जल्यो, चुनाव धेरै भोगियो हुनेवाला केही छैन ।

२०५६ साल फागुन १० गते खारामा प्रहरी पसेर १५ जनाको हत्या गर्नुको साथै ७३ घरमा आगजनी गरेको थियो ।

द्वन्द्वकालका घाइते समेत रहेका ओलीले भने– अहिलेसम्म निरन्तर औषधी खानुपर्छ । उपचारमा सहयोग माग्दै कति नेतालाई अनुरोध गरेंं तर कुनै नेताले मेरो कुरा सुनेनन् । अब म कसैलाइ पनि भोट हाल्दिन । युद्ध पछि दुईवटा चुनाव भए, दुवै चुनावमा भोट पनि हालियो तर आफ्नो दुःखमा केही कमी आएन । द्वन्द्वकालमा पीडित भएका सबै जनताको हालत उस्तै छ– उनले गुनासो गरे ।

खाराकै ५० वर्षीय दलबहदुर खत्रीले भने– गाउँमा पुलिसको कुटाइ नखाएको र घरबास नजलेको कोही पनि छैन । सबैका घरमा दुःख र पीडा मात्र छन् । जुन नेता आए पनि जनताको लागि केही गर्दैन । कांग्रेसबाट निर्वाचीत वडा अध्यक्ष  मारिँदा समेत पार्टीले खोजविन नगरेको स्मरण गर्दै ५३ वर्षीय नर सिङ खत्रीले भने– सबै पार्टीलाई भोट हालेर हेरिसक्यौं । कुनै पार्टीले पनि केही गरेन । अब कसैलाई पनि भोट हाल्दैनौं ।

हरेक घर द्वन्द्व पीडित भएकाले द्वन्द्वकै पीडाको कुरा उठ्ने भएकाले उमेदवारलाई जनताको घर दैलो जान कठिन छ । खाराका गाउँहरुमा उमेदवारहरु चुनावी प्रचार कार्यक्रम गर्दै हिँड्न सकिरहेका छैनन् । अन्य गाउँमा चुनावी हल्ला खल्ला भए पनि खारामा सुनसान छ । खोजेर  बल्ल तल्ल भेटिएका उमेदवार एक्लै थिए, साथमा न झन्डा न प्रचार सामग्री न कार्यकर्ता ।

 ३९ वर्षीय तिलसरा खड्का भन्छिन् हामीले भोट हालेर के पाउँछौं । न बिगतमा गुमेको सन्तानको सपनानै पूरा हुन्छ, न गाउँको विकास, केही नपाउने यो चुनावको मतलबै नभएको बताइन उनले। स्रोत कान्तिपुर

0 comments

Write Down Your Responses