किन हुँदैछ भरतपुरमा पुनः निर्वाचन ?

बैशाख ३१ गते निर्वाचन सम्पन्न भएपछि परिणाम गठबन्धनको पक्षमा गएन । मतगणना जारी रहँदा एमालेका एकल उमेदवार देवी ज्ञवाली गठबन्धनका उमेदवार रेणु दाहाल भन्दा अघि बढ्दै गए । देवी ज्ञवालीको अग्रताबाट अत्तालिएका माके काँग्रेस गठबन्धनको औचित्य माथि गम्भिर प्रश्न उठ्यो । यो गठबन्धन भरतपुरमा रेणुलाई जिताउने सवालसँग मात्रै गाँसिएको विषय थिएन । केन्द्रमा इन्डो अमेरिकन धारको अगुवाई गर्दै बनेको दाहाल देउवा गठबन्धन नै अहिलेको मुलुकको मुल राजनीतिक प्रवृत्ति हो । तत्काल यो गठबन्धनको चरित्र यथास्थितिवाद र राष्ट्रिय आत्मसमर्पणवाद हो । यही धार मार्फत् आफ्नो कुत्सित स्वार्थ पुरा गर्न तलै देखि यो धारलाई बलियो बनाउने र विश्वासको आधार खडा गर्ने मैदानको रुपमा भरतपुरमा सहकार्य भएको हो । तर यो गठबन्धन भरतपुरमा असफल भएपछि चिन्तित बनेका पुरानो संसदवादका खेलाडी देउवा र अर्का नयाँ खेलाडी प्रचण्डका केही नाटककारहरुले भरतपुर महानगरपालिकाको १९ नं. वडाको मत गणना स्थलमा मतपत्र च्यातेर संसदीय फोहोरी खेलको एउटा अनुपम उदाहरण प्रस्तुत गरे । मतपत्र च्यात्ने योजना स्थानीय निर्वाचन नियमावली अध्ययन गरेर बालुवाटारमा बनेको थियो । २०५४ सालको स्थानीय निर्वाचनमा बागलुङको अमलचौर गाविसमा काँग्रेस उमेदवारले अग्रता लिंदै गर्दा एमालेले मतपत्र च्यातेर पुनः निर्वाचन गराएको नजिर अध्ययन गरी बालुवाटारको अँध्यारो कुनामा यो योजना बनेको थियो ।
संसदीय निर्वाचनको लागि आफ्नो कुनै सुरक्षित क्षेत्र नभएको प्रचण्डका निम्ति छोरी रेणुको चुनावी जित हारसँग आफ्नो राजनीतिक जीवन मरणको सवाल थियो । काठमाडौंको १० नं. निर्वाचन क्षेत्रमा दोस्रो संविधानसभाको निर्वाचनमा सर्मानक हार व्यहोर्नु र सिराहामा समेत हार व्यहोरेपछि राजनीतिक समझदारीमा एमाले उमेदवारलाई बलिको बोको बनाएर नक्कली जित हात पार्न विवस प्रचण्डका निम्ति देउवा स्वयंले भरतपुरलाई प्रचण्डलाई छोड्ने समझदारी गरेका थिए । तर उक्त समझदारी जनताले अस्विकार गरेपछि अनेकन नाटक मञ्चन गरेर दोस्रो निर्वाचन गराउन निर्वाचन आयोगलाई बाध्य बनाउँदै वडा नं. १९ मा पुनः निर्वाचन गराउने षडयन्त्र अनुरुप आयोगले पुनः निर्वाचनको निर्णय गरेको छ । तर एमालेले सडक, सदन र अदालत मार्फत् राजनीतिक र कानुनी लँडाईको दुहाइ दिँदै अस्विकार गर्ने निर्णय गरेको छ र संसद अवरोध जारी राखेको छ ।


0 comments
Write Down Your Responses