गृहमन्त्री निधीको राजिनामा– महाअभियोग पत्रको हस्ताक्षरमा केरमेट

१७ बैशाख, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीलाई टेलिफोनबाट जानकारी दिँदै स्वकीय सचिवबाट राजिनामा पत्र पठाएर पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै गृहमन्त्रीले राजीनामा दिएका हुन् ।
गृहमन्त्री निधीले स्वकीय सचिवमार्फत प्रधानमन्त्री प्रचण्ड सामू राजीनामा पत्र बुझाए पनि राजीनामा दिनुको कारण भने खुलाएका छैनन् ।
आजकै मितिबाट राजिनामा दिएको उल्लेख गर्दै निधीले राजीनामा पत्रमा लेखेका छन्, ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा सक्रिय रहिरहने छु ।’
राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई राजीनामाको प्रक्रियाबारे सोधे पछि प्रधानमन्त्री सामू राजीनामा दिनुपर्ने व्यवस्था थाहा पाए लगत्तै
निधिले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी राजीनामा दिन लागेको जानकारी दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डको आग्रहलाई अस्विकार गरेका नीधिले राजिनामा दिनुको कारण पार्टी सभापतिले महाअभियोग लगाउने बारेमा आफुसंग कुनै परामर्श नगरेको बताए । १९ गते आईजीपी प्रकरणको फैसलालाई हेरेर नै प्रधानन्यायाधीशविरुद्ध महाअभियोग आएको गृहमन्त्री निधीको ठहर रहेको उनी निकटका काँग्रेस नेताहरुले बताएका छन् ।
प्रधान न्यायधिस कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा काँग्रेस सांसद समेत रहेका निधिको नाम छ तर हस्ताक्षरमा केरमेट गरेर बदर गरिएको छ ।
यद्यपि प्रधानमन्त्री कार्यालय स्रोतले भने मन्त्री निधीको असन्तुष्टि उनकै पार्टीको नेतृत्वसँग रहेको बतायो ।
अर्कै प्रयोजनका लागि गरिएको हस्ताक्षर यसमा प्रयोग भएको र निधीले महाअभियोगमा आफ्नो असहमति रहेको बताएपछि केरमेट गरिएको हुनसक्ने बताइएको छ ।


0 comments
Write Down Your Responses