महाअभियोग विरुद्ध जुलुसः माफियाले चलाएको देशमा राम्रो काम गर्नेलाई नै महाभियोग डा. केसी
बैशाख १८, काठमाडौं ।वरिष्ठ चिकित्सक गोविन्द केसीले माफिया र दलालले चलाएको देश भएकाले राम्रो काम गर्ने व्यक्तिले नै महाअभियोग सामना गर्नुपर्ने स्थिति रहेको बताएका छन् ।
लोकमानविरुद्ध त्यत्रो आवाज उठ्दा पनि महाअभियोग लगाउने सांसद जुटेनन्, यसमा भने केही घन्टामै यत्रो हस्ताक्षर जुट्यो, प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव दर्ताविरुद्ध सोमबार नयाँबानेश्वरमा आयोजित कोणसभामा डा. केसीले भने, यो प्रकरणमा भर्खरै नेपाल आएका लोकमानको हात छ ।
यी दलालहरुले गरेको फोहोरलाई म दसपटक मात्र होइन जिन्दगीभरि लडेर भए पनि सफा गरेरै छाड्छु ।
माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । दिउँसो ३ बजेदेखि सुरु भएको प्रदर्शनमा नागरिक समाज तथा राजनीतिक दलहरु समेत सहभागी थिए । जनता मिलेर यी देश हॉक्ने दलाललाई चुनावबाट र चुनाव नभए बाहिरैबाट पनि कारबाही गर्नुपर्ने डा. केसीले बताए।
कार्यक्रममा अधिवक्ता ओमप्रकाश अर्यालले लोकमानविरुद्ध लडेका सबैको मुटुमा सुशीला कार्की बसेको बताउँदै यसलाई नैतिकताको लडाइँको संज्ञा दिए । दलको नाममा लोकतन्त्रको खोल ओढेर लोकतन्त्रका आधारशिला भत्काउने देशद्रोही हुन् । हिजो लोकमान ढाल्नेले अब देउवा र प्रचण्डलाई ढाल्नेछ। त्यसपछि मात्र सॉचो लोकतन्त्र आउनेछ, उनले भने ।
विवेकशील नेपाली दलका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार रञ्जु दर्शनाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रलाई होइन लुटतन्त्रलाई संस्थागत गर्दै लगेको बताइन् । यो लुटतन्त्रको फाइल बन्द गर्न न्यायाधीश हटाए पनि अब यो सडकले तिनीहरुको एक एक फाइल खोल्नेछ, उनले भनिन् ।
प्रदर्शनमा डा. गोविन्द केसी, प्राध्यापक केदारभक्त माथेमा, शम्भु थापा, हरि शर्मा, शुदर्शन तिवारी लगायत करिब २ हजार जनाभन्दा बढीको सहभागिता छ। क का कि की, देउवा, प्रचण्ड छिछि, प्रतिशोधपूर्ण महाभियोग खारेज गर, दृण बन सुशीला जनता तिम्रो साथ छन् ।’ जस्ता नारा लगाइएको थियो। प्रदर्शनमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एवं उज्जल थापा नेतृत्वको विवेकशील नेपाली दल पनि सहभागी भएको छ।
सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।


0 comments
Write Down Your Responses