अर्मलामा एकाबिहानै बम विष्पोट

बैशाख ३१, कास्की । स्थानीय चुनाव खारेजीको अभियान चलाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मतदातालाई प्रभाव पार्न विभिन्न गतिविधिहरु सञ्चालन गरेको खबर प्राप्त भएको छ । मतदाता मतदानस्थलसम्म नपुगुन् भन्नाका लागि कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बम विष्फोट लगायतका गतिविधिहरुलाई तीब्रता दिएका छन् ।
यसैक्रममा कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले आज बिहानै करीब पाँच बजेको समयमा पोखरा लेखनाथ महानगरपालिका वडा नं। १६ स्थित शान्ति मावि मतदान केन्द्र जाने बाटोमा सकेट बम विष्फोट गराएका छन् । बम विष्फोटस्थल एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार जीपनप्रसाद आचार्यको घर नजिकै रहेको बताइएको छ ।
त्यस्तै मतदानकेन्द्र लक्ष्यित गरेर गएराती करीब नौबजेकोसमयमा पोखरा लेखनाथ महानगरपालिका वडा नं। ३१ बेगनासस्थित आनन्दज्योति मावि मतदान केन्द्रमा बम विष्फोट गराइएको छ । बम विष्फोटबाट पुगेको क्षति बारे पूर्ण विवरण आएको छैन ।
यसअघि आफ्ना गिरफ्तार कार्यकर्ताको रिहाई र चुनाव खारेजीको माग राखेर नेपाल कम्युनिष्ट पार्टीले शनिबार आयोजना गरेको नेपाल बन्दका क्रममा पोखराबाट तीन जना कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा टीकाराम घिमिरे, पूर्णबहादुर रावत र टाँसी लामा रहेका छन् ।


0 comments
Write Down Your Responses