कास्कीमा प्रहरी धरपकड तीब्र, लुम्लेबाट पाँच जना विद्यार्थी नेता गिरफ्तार

वैशाख २५, ओम हमाल/पोखरा । स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा कास्की प्रहरीले चुनावविरोधी गतिविधि गरिरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई व्यापक धरपकड गर्न शुरु गरेको छ ।
यसैक्रममा सोमबार दिउँसो करीब साढे चारबजेको समयमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका पाँच नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले लुम्लेबाट गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।
प्रहरीले गिरफ्तार गरेका विद्यार्थी नेताहरुमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय मिलन राई र काजी गुरुङ तथा पृथ्वीनारायण क्याम्पस जिल्ला ईकाई अध्यक्ष शिव क्षेत्री, सचिव दिलबहादुर तामाङ र सदस्य सुनिल कुमाल रहेका छन् ।
कास्कीको नयाँपुलबाट बस चढेर पोखरातर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले लुम्लेबाट गिरफ्तार गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं गण्डक ब्यूरो प्रमुख प्रकाश विश्वकर्माले जानकारी दिएका छन् । उनीहरुलाई बस चढेर पोखरा आउँदै गरेको अवस्थामा सवारी साधन चेकजाँच गरिरहेका प्रहरीले बसबाटै पक्राउ गरेको बताइएको छ ।
करीब चारदिन अघि अज्ञात समूहले कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ५ का वडाध्यक्षका प्रत्यासी जीवनाथ पौडेल 'शंकर'ले चुनावी प्रचारमा प्रयोग गर्ने ग१च ८५६८ नं. को जीप तोडफोड गरेका थिए ।
यसभन्दा अघि कास्की प्रहरीले लेखनाथका विभिन्न स्थानहरुबाट तीन जना र शार्दीखोलाबाट ६ जना कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको छ ।
कास्कीको लेखनाथबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३० बस्ने दिब्या गुरुङ, रामजी बराल र राजकुमार सुनार नाम गरेका कार्यकर्ताहरुलाई कास्कीको खुदीबाट वडा प्रहरी कार्यालय गगनगौडाको प्रहरी टोलिले नियन्त्रणमा लिएको छ । उनीहरुलाई चुनावमा भोट हाल्न जानु हुदैन भन्दै प्रचार गर्दै हिडेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।
यसभन्दा अघि कास्की जिललाको शार्दीखोलामा चुनावविरोधी गतिविधि गरेको भन्दै ६ जनालाई प्रहरीले पटक पटक गरी ६ जनालाई नियन्त्रणमा लिएको बताइएको छ । शार्दीखोलामा गाउँजनसरकार घोषणा गरेको भोलिपल्टै प्रहरीले नेकपा शार्दीखोला सेक्रेटरी युवराज बाँस्तोला, तेजबहादुर केसी र मनबहादुर तामाङलाई पक्राउ गरेको थियो ।
उनीहरु पक्राउ परे लगत्तै कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २ मा काँग्रेसका उम्मेदवार गुञ्जमान गुरुङले प्रयोग गरेको ग१ज ६४४५ नं. को जीपमा आगजनी गरिएको थियो । त्यसपछि प्रहरीले शार्दीखोला जनसरकार प्रमुख खुशीमान परियार, धनबहादुर तामाङ र चित्रबहादुर गुरुङलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।


0 comments
Write Down Your Responses