सरकारको गतिविधि प्रती अधिकार कर्मीको बिरोध



बैशाख २७, काठमाडौं । सरकारले विनाकारण देशव्यापीरुपमा गरिरहेको धरपकड, गिरफ्तारी, झुट्ठा मुद्दा, थुनछेकको विरोध गर्दै सोमबार जनअधिकार अभियान नेपालका संयोजक एकराज भण्डारीले वक्तव्य जारी गर्नुभएको छ ।

भण्डारीले वक्तव्यमा भन्नुभएको छ – २०७४ साल वैशाख २४ गते नेपाल कम्युनिस्ट पार्टीले आफ्ना केन्द्रीय सदस्यहरुसमेतका नेता तथा कार्यकर्ताहरु बर्दिया, रुकुम, काभ्रे, चितवन, सिन्धुली, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौं, दोलखा, सल्यान, धादिङ, पर्वत, महोत्तरीलगायतका जिल्लाहरुमा सरकारका सुरक्षाकर्मीबाट राजनीतिक आस्थाका आधारमा युद्धकालमा जस्तै बिनाकारण झूट्टा मुद्दा लगाई गिरफ्तार गरी केहीलाई बेपत्ता पारिएको तथा केहीलाई थुनामा राखी यातना दिएकाले तुरुन्त रिहा गर्न भन्दै प्रेस वक्तव्य जारी गरी सार्वजनिक गरेको र राजनीतिक आधारमा सरकारका सुरक्षाकर्मीद्वारा पक्राउ गरिएको भन्ने विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचारप्रति जनअधिकार अभियान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

निर्वाचन हुनै लाग्दा गरिएको यस प्रकारको धरपकड, गिरफ्तारी तथा यातना दिने कार्यप्रति राष्ट्रिय मानवअधिकार आयोग, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुलगायत सबैको ध्यानाकर्षण गराउँछौं ।

निर्वाचनमा सहभागी हुने वा नहुने व्यक्तिको वैयक्तिक स्वतन्त्रता भएको र आफ्ना जायज मागहरुसहित शान्तिपूर्ण विरोध गर्न पाउनुसमेत नागरिकको मौलिक हक एवं नागरिक तथा राजनीतिक अनुबन्धद्वारा प्रत्याभूत मानवअधिकारसमेत भएकोले नागरिकको मौलिक हक, अधिकार र मानवअधिकारको प्रत्याभूति तथा सम्मान गर्न, राजनीतिक आस्था र विचारको आधारमा पक्राउ नगर्न, मुद्दा नलगाउन, थुनछेक नगर्न र यातना नदिनसमेत जनअधिकार अभियान नेपाल नेपाल सरकार, सुरक्षानिकाय र सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछ । साथै, राजनीतिक विषयहरु वार्ता तथा राजनीतिक तबरबाटै हल गर्न पनि जनअधिकार अभियान नेपाल सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।

0 comments

Write Down Your Responses