सहमति अनुसार मागहरु पुरा नभएको भन्दै संघीय गठबन्धनले आन्दोलन गर्ने



बैशाख २६, काठमाडौं । संधीय गठबन्धनले संविधान संशोधन लगायतका मागहरु पुरा नभएको भन्दै आन्दोलनको घोषणा गर्ने भएको छ ।

गठवन्धनका नेताहरु आन्दोलन घोषणा गर्नु  अघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी एमालेलाई पनि बैठकमा बोलाएर संशोधनका लागि पहल गरिरहेको बताए ।

बैशाख १७ गते नै संशोधनको पक्षमा ४०१ सांसद पुगेपनि अन्तिममा राप्रपाका १० सांसद अनुपस्थित भएपछि पास हुन नसकेको सुनाउँदै प्रचण्डले जेठ ४ गते रहेको संसदको बैठकमा संशोधन प्रक्रिया अघि बढाउने आश्वासन संघीय गठवन्धनका नेताहरुलाई दिए ।

तर, बैठकमा उपस्थित एमालेका नेताहरुले संशोधनको समर्थनमा आफुहरु नरहने प्रष्ट पारे ।

बैठकमा संघीय गठवन्धनका नेताहरुले भने आफूहरुसँग भएको समझदारी अनुसार काम नभएको भन्दै अब दबावमुलक आन्दोलन घोषणा हुने जानकारी गराए ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘मिठो बोली त नौ महिना सुन्यौं । तर, परिणाम आउनुपर्‍यो ।’

बालुवाटारमा बसेको बैठकमा सहमति नजुटेपछि आजै आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको राजपाका नेता राजकिशोर यादवले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डसंग चुनावअघि नै संविधान संशोधन गर्ने र स्थानीय तहको संख्या पनि बढाउने विषयमा सहमति भएको थियो । यो केही पनि पूरा नभएकाले हामी आन्दोलनमा जान बाध्य भएका हौं भन्दै यादवले  यादवले भने, ‘आजै संघर्षको कार्यक्रम सार्वजनिक हुन्छ ।’

हामीलाई किन सहभागि गराइएन– एमाले नेता

प्रमुख प्रतिपक्षी दल एमालेलाई बालुवाटारमा आयोजित मधेसी मोर्चासँगको बैठकमा सहभागि नगराइएको भन्दै उपाध्यक्ष वामदेव गौतम र संसदयीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीसँग गुनासो गरे ।

आफूहरु पनि सहमतिको बाधक नभएको तर सरकारले मोर्चासँग एक्लै बैठक राखेर एमालेले मानेन भन्ने गरेको नेम्वाङले बैठकमा बताए भने कांग्रेस सभापति शेरबहादुर देउवाले सबै मिलेर संविधान संशोधन गर्न तयार रहेको बताएका थिए ।

चुनाव अगावै संविधान संशोधन हुन्छ भनेर किन नगरेको भन्दै मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

0 comments

Write Down Your Responses