एउटै मञ्चबाट विप्लव, बैद्य, र सिंहको निस्कर्षः क्रान्तिका लागि परिस्थिति अनुकल
काठमाण्डौ ९, बैशाख ।
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले कम्युनिष्ट आन्दोलन भित्र पुँजीवाद, निम्न पुँजीवादी, उपभोक्ता संस्कृतिको आकर्षणका कारण कम्युनिष्ट आन्दोलनमा आत्मगत अवस्थाको निर्माण गर्न गाह्रो भएको बताउनुभयो । कम्युनिष्ट आन्दोलनमा बाहिरी शक्तिबाट मात्र खतरा नरहेको बताउँदै मुख्य खतरा भित्रैबाट रहेकोमा जोड दिनुभयो । शनिबार काठमाडौं सरस्वति नगर स्थित चलचित्र विकास बोर्डको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भयो ।
व्यक्तिगत सम्पत्ति प्रतिको मोह, लोभ र आकाक्षानै मुख्य खतरा रहेको उहाँको भनाई थियो । महान अक्टोबर क्रान्तिको सत्वार्षिकीको अवसरमा नेकपा मसाल, नेकपा (क्रान्तिकारी) माओवादी र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष किरणले नेपालमा क्रान्तिकारी आन्दोलनका लागि अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल रहेको बताउनु भयो । नेपालमा धेरैले कम्युनिष्ट नाम राखेपनि ति कम्युनिष्ट होइनन् । तिनीहरुको बारेमा सही विष्लेषण गर्न सबैमा आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा नेकपाका महासचिव विप्लवले नेपाली जनताको बीचमा जातीय, क्षेत्रीय, लैंगिक समस्याहरु भएपनि मुख्य समस्या वर्गीय समस्या रहेको बताउनुभयो । सबै संघर्षको केन्द्र विन्दु वर्ग संघर्ष हो, त्यसलाई मुख्य केन्द्र बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । पुँजीवादले कुनै वर्ग, क्षेत्र, जाती, लिंगलाई मुक्त गर्दैन, तिनीहरुको मुक्तिको एउटै बाटो बैज्ञानिक समाजवाद रहेको दावी गर्नुभयो । साम्राज्यवाद भु–मण्डलिकृत छ, जनतालाई घर घरमा टुक्रउने काम गरिरहेको छ र साम्राज्यवादलाई दृष्टिकोणमा नजितेसम्म सबैको मुक्ति सम्भव नरहेको बताउनु भयो । नेपालको अर्थतन्त्र, बजार, संस्कृति, कर्मचारी, सुरक्षा सबैमा दलाल पुँजीवाद हावी रहेको बताउँदै वहाँले त्यसका लागि नौलो जनवाद मात्र भनेर नहुने, बैज्ञानिक समाजवादको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले अक्टोबर क्रान्तिको सत्वार्षिकी कार्यक्रम र विश्व समाजवादी आन्दोलन, मोहन बैद्यले महान अक्टोवर क्रान्तिको विश्वव्यापी ऐतिहासिक महत्व र नेकपाका महासचिव विप्लवले अक्टोवर क्रान्तिको सत्वार्षिकीको सन्दर्भमा भन्ने विषयगत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि नेकपा मालेका महासचिव सि.पी. मैनाली, जनमोर्चा नेपालका अध्यक्ष साध्यवहादुर भण्डारी, नेकपा संयुक्तका गणेश शाह, ऋषि कट्टेलले टिप्पणी गर्नुभएको थियो । कार्यक्रम अक्टोवर क्रान्तिको सत्वार्षिकी साथै लेनिन दिवस र नेकपा स्थापनाको दिन पारेर कार्यक्रमको आयोजना गरिएको थियो ।
1 comments
Write Down Your Responses



April 22, 2017 at 9:19 PM
समाचार पूर्वाग्रही भयो .... ऋषी कट्टेल नेकपा का अध्यक्ष हुन् र बिप्लवको नेकपा भन्दा पुरानो नेकपा ऋषी कट्टेलको हो ...तर यस्तो समाचारमा यति कुरा कहिँ कतै उल्लेख नगर्नु अनि ..ऋषी कट्टेललाई अन्त्यमा बिना पार्टी राख्नु पूर्वाग्रहको हद हो ...